चितवन । नेपाल प्रहरी स्थापनाको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्। प्रहरी दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा ३० जना संरक्षित बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूलाई शैक्षिक सामग्री र प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत प्रदान गरिएको छ।
नेपाल प्रहरी स्थापना भएको वर्षको संख्यालाई प्रतीकात्मक रूपमा जोड्दै ७१ जनाबाट रक्तदान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, प्रहरी कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल रेडक्रस सोसाइटीका स्थानीय शाखासँगको समन्वयमा आयोजित कार्यक्रममा प्रहरी नागरिक साझेदारी संस्थामा संरक्षित ३० जना बालबालिकाको विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार चितवन एभरेष्ट हस्पिटल र सगरमाथा ल्याबसँगको सहकार्यमा बालबालिकाको सामान्य स्वास्थ्य जाँच, रक्त परीक्षण तथा स्वास्थ्य अवस्थासम्बन्धी विभिन्न परीक्षण गरिएको हो। उनीहरूलाई आवश्यक प्राथमिक उपचारका लागि औषधिसमेत उपलब्ध गराइएको उनले जानकारी दिए।
प्रहरी दिवसकै अवसरमा विद्यालयले संरक्षित बालबालिकालाई विद्यालय जान प्रयोग हुने ब्याग तथा अन्य शैक्षिक सामग्रीसमेत वितरण गरेको छ। बालबालिकाको स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा रक्तदान तथा स्वास्थ्य परीक्षण व्यवस्थापनमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो।
विद्यालयले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, गोरेटो शैक्षिक परामर्श केन्द्र, रेडक्रसका स्थानीय शाखा तथा संरक्षित बालबालिकालाई प्राथमिक उपचारका लागि औषधि उपलब्ध गराउने आषिस मेडिकललगायत स्थानीय सामाजिक संघसंस्थालाई सम्मान गरेको हो।
विद्यालयका समादेशक थापाका अनुसार विद्यार्थीलाई रक्तदानको महत्त्व र रगतसम्बन्धी स्वास्थ्य परीक्षणबारे जानकारी गराउने उद्देश्यले विद्यालय परिसरमै कार्यक्रम आयोजना गरिएको हो। यसबाट विद्यार्थीमा सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको विकासमा समेत सहयोग पुग्ने विद्यालयको अपेक्षा छ।
नेपाल पुलिस स्कुल चितवनमा अध्ययनरत करिब ७०० विद्यार्थीलाई विद्यालयले विभिन्न समयमा वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सहयोगी भावनाको विकास, अनुशासन, स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा व्यक्तिगत सुरक्षासम्बन्धी प्रशिक्षणसमेत प्रदान गर्दै आएको छ।
प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान, स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै सामाजिक सेवाप्रतिको प्रतिबद्धता उजागर गरेको छ।

