काठमाडौं । देश बाढीपहिरोको चपेटामा परिरहेका बेला विपद् प्रभावितका लागि सहयोग जुटाउने क्रम तीव्र छ। सरकारको राहत कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग पुगिरहेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गरिरहेका छन्।
यही क्रममा मुक्तिनाथ विकास बैंकले गरेको राहत सहयोग भने रकमका कारणभन्दा पनि एउटा तस्बिरका कारण विवादमा तानिएको छ।
सरकारलाई राहत रकम हस्तान्तरण गर्ने क्रममा बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल अर्थमन्त्रीसँगै देखिएपछि उनको उपस्थितिलाई लिएर प्रश्न उठेको हो। ढकाल अहिले मुक्तिनाथ विकास बैंकको कुनै पनि जिम्मेवारीमा छैनन्। उनी बैंकका सञ्चालकसमेत होइनन्।
तर, बैंकको तर्फबाट सरकारलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा उनी अर्थमन्त्रीसँगै फोटोमा देखिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले विपद्को समयमा गरिएको सहयोगलाई स्वागत गरेका छन् भने कतिपयले राहत हस्तान्तरणजस्तो कार्यक्रममा बैंकसँग प्रत्यक्ष जिम्मेवारीमा नरहेका व्यक्तिको उपस्थितिको औचित्यमाथि प्रश्न गरेका छन्।
ढकाल यसअघि मुक्तिनाथ विकास बैंकको अध्यक्षको जिम्मेवारीमा थिए। नेपाल राष्ट्र बैंकको कारबाहीपछि उनी बैंकबाट बाहिरिएका हुन्। त्यसपछि उनी राजनीतिमा सक्रिय भएका थिए। उनले स्याङ्जाबाट निर्वाचनसमेत लडेका थिए, तर पराजित भए।
त्यसैले अहिले उठेको मुख्य प्रश्न हो- मुक्तिनाथ विकास बैंकको वर्तमान संरचनामा नरहेका ढकाल राहत रकम हस्तान्तरण कार्यक्रममा कुन हैसियतमा सहभागी भए?
यस विषयमा स्पष्ट जानकारी लिन बैंकका सूचना अधिकारी तिल गुरुङसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर उनको फोनमा सम्पर्क हुन सकेन। ढकालसँग पनि प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
गुरुङ यसअघि पनि ढकालसँग जोडिएको एउटा राजनीतिक प्रसंगका कारण चर्चामा आएका थिए। ढकाल स्याङ्जाबाट निर्वाचन लडिरहेका बेला बैंकको प्रचार बजेट प्रयोग गरी मिडिया व्यवस्थापनका नाममा रकम वितरण गरिएको आरोपसमेत लागेको थियो।
यसैबीच, विवादको एउटा पाटो अलग भए पनि मुक्तिनाथ विकास बैंकले विपद्को समयमा राहत कोषमा आर्थिक सहयोग गर्नु सकारात्मक काम भएको भन्दै प्रशंसा गर्नेहरू पनि छन्।
अर्थात्, विवाद सहयोग गरेको विषयमा भन्दा सहयोग हस्तान्तरण गर्ने क्रममा बैंकको वर्तमान पदमा नरहेका पूर्वअध्यक्ष ढकालको उपस्थिति र अर्थमन्त्रीसँगको तस्बिरलाई लिएर बढी केन्द्रित भएको छ।
अब चासोको विषय बनेको छ- बैंकमा पद नरहेका ढकाललाई राहत हस्तान्तरण कार्यक्रममा कसले र कुन भूमिकामा सहभागी गरायो?
