रौतहट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन्। एक प्रहरी हवलदारसहित १० जना भने अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
गत बुधबार आएको बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवामा रहेका रौतहटका १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। उनीहरूको खोजी भइरहेका बेला ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आएको प्रशासनले जनाएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले शुक्रबार सूचना जारी गर्दै सम्पर्कमा आएका तथा अझै सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन्।
६ जना परिवारको सम्पर्कमा
प्रशासनका अनुसार ईशनाथ नगरपालिका–४ का मोहम्मद एजार (शेख मञ्जिल), उमेर २४/२५ वर्ष, चन्द्रपुर नगरपालिका–४ का सम्राट सिलवाल र पवित्रा सिलवाल, २५ वर्ष तथा गढीमाई नगरपालिका–७ का मोबिदा खातुन, ३५ वर्ष, सविना खातुन, २४ वर्ष र सलमान अन्सारी, २० वर्ष परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।
प्रहरी हवलदारसहित १० जना अझै सम्पर्कविहीन
अझै सम्पर्कविहीन हुनेमा गरुडा नगरपालिका–१ का सुधिर कुमार साह (३४), वृन्दावन नगरपालिका–२ का गौरव कुमार राउत (३४), वृन्दावन नगरपालिका–३ पिपरा गोठहटका समिर मन्सुरी (३२) र गौर नगरपालिका–९ का प्रहरी हवलदार नवीन कुमार सिंह (३५) रहेका छन्।
त्यस्तै, गुजरा नगरपालिका–८ पिपरा गोठहटका इशलाम खाँ (३६), राजदेवी नगरपालिका–९ की संगिता देवी (५०), सोही स्थानका राहुल कुमार (२५), चन्द्रपुर नगरपालिका–३ गैडाटारका विवेक दवाडी (२६), सोही स्थानका रणबहादुर तिमिल्सिना (२८) र राजदेवी नगरपालिका–२ का राम विनोद भगत (४२) पनि अझै सम्पर्कमा आएका छैनन्।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रौतहटका नागरिकसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ।
प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई नजिकका सुरक्षा निकाय वा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ।
