रौतहट । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपत्तिको समयमा हुने चोरी, लुटपाट, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि तत्काल रोक्न आग्रह गरेका छन्।
खनालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी प्रभावित क्षेत्र, शोकमा रहेका परिवार, उद्धार तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी र सेवामा जुटेका कर्मचारीप्रति सम्मान तथा ऐक्यबद्धता व्यक्त गरेका हुन्।
बाढीका कारण धेरै परिवार विस्थापित भएको, कतिपयले घरबार गुमाएको र कतिपयले आफन्तसमेत गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्तो पीडादायी अवस्थामा प्रभावित परिवारको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताएका छन्।
विपत्तिको समयमा राहत र सहयोगका नाममा हुने चोरी, लुटपाट, कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धिप्रति विशेष चिन्ता व्यक्त गर्दै खनालले संकटमा परेका नागरिकको विवशतालाई व्यापार वा व्यक्तिगत स्वार्थको अवसर बनाउनु अमानवीय हुने बताएका छन्।
उनले सुरक्षाकर्मी, कर्मचारी, स्थानीय तह, सामाजिक संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका काममा सबै मिलेर हातेमालो गर्न अपिल गरेका छन्।
प्राकृतिक विपत्तिपछि पीडित नागरिकको पहिलो आवश्यकता सुरक्षित उद्धार, खाद्यान्न, पानी, औषधि र आश्रय भएकाले राहत सामग्रीमा अनियमितता, कालोबजारी वा कृत्रिम अभाव सिर्जना हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ।
विपद् व्यवस्थापनसँगै राहत सामग्रीको वितरणमा पारदर्शिता, बजार अनुगमन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि खनालको अपिलले औँल्याएको छ।
विपत्तिको समयमा राज्यका निकायसँगै समाजका हरेक तहको जिम्मेवारी महत्वपूर्ण हुने भन्दै उनले अहिलेको प्राथमिकता आरोप–प्रत्यारोपभन्दा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने सन्देश दिएका छन्।
