रौतहट । नेपाल–भारत सीमावर्ती भारतीय क्षेत्रमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले लागुऔषधविरुद्धको निगरानी तथा कारबाही तीव्र पारेका छन्। मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनपछि सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले सक्रियता बढाएको हो।
रक्सौल र आदापुरमा गरिएको छुट्टाछुट्टै कारबाहीमा १९२ किलो ४२६ ग्राम गाँजा बरामद भएको छ। घटनामा एक नेपाली नागरिकसहित दुई जना पक्राउ परेका छन्।
बुधबार अपराह्न रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत सीवान टोलमा हरैया प्रहरी र एसएसबीको संयुक्त टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको ४ किलो ४२६ ग्राम गाँजा बरामद गरेको हो।
गाँजासहित प्रहरीले पर्सा जिल्ला सुगौली थाना क्षेत्रअन्तर्गत कुहडी निवासी २५ वर्षीय अवध किशोर प्रसादलाई पक्राउ गरेको जनाएको छ। उनको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। भारतीय प्रहरीले प्रसादविरुद्ध एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
त्यस्तै, आदापुरको हरपुर थाना क्षेत्रमा प्रहरीले १८८ किलो गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा बरवा पेट्रोल पम्पनजिक सवारीसाधन जाँच गर्ने क्रममा बीआर–३०जीबी–२२८० नम्बरको १० चक्के ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकको इन्जिन बोगीमा विशेष रूपमा बनाइएको गोप्य बक्सभित्र १२ वटा पेटीमा गाँजा लुकाएर राखिएको थियो। घटनामा ट्रक चालक मुजफ्फरपुर जिल्लाको कान्ती थाना क्षेत्रअन्तर्गत हरिचन्दा निवासी शौकत अली पक्राउ परेका छन्।
सीमापार तस्करीमाथि प्रश्न
एकै दिन नेपालसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा भएका दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद हुनुले सीमापार लागुऔषध तस्करीको सञ्जालप्रति प्रश्न उठाएको छ।
नेपालका मकवानपुरलगायत विभिन्न क्षेत्रबाट ट्रक तथा मोटरसाइकलमार्फत गाँजा भारतीय सीमासम्म पुर्याउने गरेको आशंका रहेकाले नेपालतर्फको सुरक्षा जाँच तथा सीमामा हुने निगरानीमाथि समेत प्रश्न उठ्न थालेको छ।
यद्यपि बरामद गाँजा कहाँबाट ल्याइएको थियो, यसको मुख्य गन्तव्य कहाँ थियो र घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ वा छैन भन्ने विषय पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धानबाट खुल्ने भारतीय प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद गाँजा, मोटरसाइकल तथा ट्रक नियन्त्रणमा लिएर एनडीपीएस ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।
