काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई नेपाल प्रहरीले तीव्रता दिएको छ।
प्रहरी प्रधान कार्यालयले बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको अवस्था पहिचान, खोजी कार्यमा सहजीकरण तथा उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सम्पर्क अधिकृतको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारी, प्रहरी निरीक्षकहरू चुडाकुमारी खड्का, प्रकाश थापा र राजेश बस्नेत तथा प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कोइरालालाई तोकिएको छ।
चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढीले रसुवाको बेत्रावती, टिमुरे, स्याफ्रुबेँसी तथा सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण टिमुरेस्थित इलाका प्रहरी कार्यालयसहित विभिन्न प्रहरी पोस्टमा कार्यरत केही प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।
सञ्चार सेवा अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रको भौगोलिक विकटताका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
यद्यपि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। उद्धार तथा खोजीका लागि हेलिकप्टर र ड्रोनसमेत प्रयोग भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले सम्पर्कविहीन प्रहरी कर्मचारीको अवस्था पत्ता लगाउन उपलब्ध सबै स्रोतसाधन परिचालन गरी खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
