काठमाडौं । बुधबार बिहान रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। बाँकी १३ जना प्रहरी सम्पर्कविहीन छन्।
यस्तै, स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना सम्पर्कमा आएका छन् भने ६ जना सम्पर्कविहीन रहेको डीआईजी रेग्मीले जानकारी दिए।
बाढीले रसुवाका केही प्रहरी कार्यालयसमेत बगाएको छ। बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।
यसैबीच, टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन रहेको बताइएको छ। यससँगै रसुवामा सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या २८ पुगेको हो।
बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा अचानक ठूलो बाढी प्रवेश गरेपछि टिमुरे, स्याफ्रुबेसीलगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।
खोज तथा उद्धारका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टरसहितको टोली परिचालन गरेको छ। सेनाले अस्पतालमा स्वास्थ्यकर्मीसहितको टोलीसमेत खटाएको छ।
उद्धारका लागि नेपाली सेनाले धुन्चे, रसुवा र धादिङको गजुरीबाट समेत टोली परिचालन गरेको जनाएको छ।
सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
