काठमाडौं । रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको भीषण बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्।
बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीले टिमुरे बजारमा रहेका बस्ती तथा संरचना बगाउँदा बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार बीओपीमा भने बाढीले क्षति पुर्याएको छैन। बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा र १५ जना सुरक्षित अवस्थामा रहेको बताइएको छ। ड्युटीमा खटिएका बाँकी ९ जना भने बाढी आएपछि सम्पर्कविहीन भएका हुन्।
यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसँग समेत सम्पर्क हुन नसकेको बताइएको छ।
अचानक आएको बाढीसँगै लेदो र माटोको ठूलो भेल बजार क्षेत्रमा पस्दा घर, पसल तथा सवारीसाधनमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ। घटनास्थलमा सञ्चार तथा आवागमन प्रभावित भएकाले क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
