काठमाडौं । तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवाका तीन वटा प्रहरी कार्यालय बगाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढी बगाएको हो।
अचानक आएको भीषण बाढीका कारण ती प्रहरी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। बाढीले कार्यालय भवन तथा संरचना बगाएपछि त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सञ्चार तथा आवागमनसमेत प्रभावित भएको छ।
घटनाको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा रहेका प्रहरी कर्मचारीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
