काठमाडौं । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीले अर्को सूचना नआएसम्म नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लाका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
बाढीका कारण त्रिशूली नदीको जलसतह बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा जान तथा नदीको तटीय क्षेत्रमा नजानसमेत अनुरोध गरेको छ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
