रसुवा । तिब्बततर्फबाट भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले रसुवाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी अशोक थापाले बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी रहेको बताएका छन्।
उनका अनुसार बाढीले तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्ती तथा बजार बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको हुनसक्ने उनको भनाइ छ।
डीएसपी थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसँग समेत सम्पर्क हुन नसकेको अवस्था छ।
बुधबार बिहान करिब ९ बजे टिमुरे बजार क्षेत्रमा अचानक बाढी आएको थियो। बाढीले टिमुरे बजारसहित आसपासका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षा निकायले प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
