कैलाली । शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी ३० वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ धनचौरीका अन्दाजी २५ वर्षीय कृष्णराज भट्टराई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो।
पीडित युवतीकी भाउजुले दिएको किटानी जाहेरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेतिर भट्टराई युवती सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप छ।
पीडित पक्षका अनुसार परिवारका अन्य सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगको कामका सिलसिलामा घर नजिकै रहेको सामुदायिक वनको भवनमा गएका बेला युवती घरमा एक्लै थिइन्।
घर फर्किने क्रममा युवती रोइरहेको आवाज सुनेपछि उनकी भाउजु कोठामा पुगेकी थिइन्। त्यसक्रममा भट्टराईलाई युवतीमाथि जबरजस्ती गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको पीडित पक्षले जनाएको छ।
सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पीडित पक्षले घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाहीसँगै क्षतिपूर्तिको समेत माग गरेको जनाएको छ।
