काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनको सजाय भने पछि निर्धारण हुनेछ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत थापाले लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगर्ने तथा केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको थियो ।
घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको थियो । त्यसपछि अख्तियारले गत जेठ १३ गते थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारको अभियोगअनुसार थापाले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गर्दै सेवाग्राहीसँग गैरकानुनी लाभ मागेका थिए । सोही प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

