रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी छतौना टोलमा मंगलबार बिहान असामान्य सन्नाटा थियो। गाउँका होनहार युवा तथा सरकारी सेवामा कार्यरत शाखा अधिकृत ओमप्रकाश यादवको पार्थिव शरीर घरमा आइपुगेपछि गाउँ शोकमा डुबेको हो।
गृह मन्त्रालय, काठमाडौंमा कार्यरत ४२ वर्षीय यादवको सोमबार राति उपचारका क्रममा निधन भएको हो। मस्तिष्कघात भएपछि करिब १० दिनदेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत यादवको अन्ततः निधन भएको हो।
दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द यादवका अनुसार काठमाडौंमै रहेका बेला यादवलाई अचानक मस्तिष्कघात भएको थियो।
‘अझै धेरै गर्न बाँकी रहेको उमेरमै उहाँलाई गुमाउनुपर्यो,’ यादवको निधनले गाउँ नै स्तब्ध बनेको बताउँदै वडाध्यक्ष यादवले भने।
डेढ वर्षदेखि गृह मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत यादवले सरकारी सेवाका क्रममा रौतहटमा लामो समय महत्वपूर्ण जिम्मेवारीसमेत सम्हालेका थिए। जिल्ला प्रशासन कार्यालय रौतहटसहित जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका यादव कर्मचारी तथा जनप्रतिनिधिमाझ सरल, मिलनसार र जिम्मेवार प्रशासकका रूपमा परिचित थिए।
दुर्गा भगवती गाउँपालिका–२ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले यादवको निधनले गाउँपालिका मात्र नभई जिल्लाले नै अनुभवी र कर्तव्यनिष्ठ कर्मचारी गुमाएको बताए।
‘यति कम उमेरमै उहाँको निधनको खबर पत्याउनै गाह्रो भइरहेको छ। उहाँले प्रशासनिक क्षेत्रमा अझै धेरै योगदान दिन सक्नुहुन्थ्यो,’ झाले भने।
यादवको पार्थिव शरीर मंगलबार बिहान पैतृक गाउँ छतौना ल्याइएको छ। परिवारका अनुसार उनको अन्तिम संस्कार मंगलबार दिउँसो बागमती नदीको किनारमा हिन्दु परम्पराअनुसार गरिनेछ।
यादवका एक छोरा र एक छोरी छन्। उनको असामयिक निधनले परिवारसँगै आफन्त, सहकर्मी, जनप्रतिनिधि र शुभेच्छुकलाई समेत शोकमा डुबाएको छ।
उनको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको ओइरो लागेको छ। स्थानीयवासी, कर्मचारी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले यादवको तस्वीर राख्दै भावुक शब्दमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
४२ वर्षको अल्पायुमै भएको यादवको निधनले परिवारले अभिभावक गुमाएको छ भने प्रशासनिक क्षेत्रमा योगदान दिइरहेको एक सम्भावनाशील र कर्तव्यनिष्ठ कर्मचारीलाई समेत देशले गुमाएको छ।
