काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको भन्दै २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने दाबी गर्दै सर्वसाधारणलाई पठाइएका शंकास्पद सन्देशप्रति नेपाल प्रहरीले सचेत गराएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय ‘प्रिय ग्राहक, राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्ने व्यहोराको सन्देश पठाएर शंकास्पद लिंकमा क्लिक गराउने प्रयास भइरहेको जनाएको छ।
ब्यूरोका अनुसार यस्ता सन्देशमा पठाइएको लिंकमा क्लिक गर्दा बैंकिङ तथा व्यक्तिगत विवरण चोरी हुन सक्ने जोखिम हुन्छ। त्यसैले अफवाहपूर्ण तथा शंकास्पद सन्देशमा विश्वास नगर्न र त्यस्ता लिंकमा कुनै पनि हालतमा क्लिक नगर्न प्रहरीले आग्रह गरेको छ।
बैंक वा डिजिटल वालेटसम्बन्धी आवश्यक सूचना लिनुपरेमा सम्बन्धित बैंक वा वालेटको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल पेजबाट मात्र जानकारी लिन साइबर ब्यूरोले अनुरोध गरेको छ।
प्रहरीले डिजिटल बैंकिङ प्रयोगकर्तालाई अपरिचित व्यक्तिबाट प्राप्त सन्देश, लिंक तथा वेबसाइट प्रयोग गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ। साथै बैंकिङ पासवर्ड, ओटीपी, कार्ड विवरणलगायत संवेदनशील जानकारी कसैलाई पनि नदिन भनिएको छ।
साइबर ठगी वा शंकास्पद गतिविधिबाट पीडित भएमा साइबर ब्यूरो, भोटाहिटी काठमाडौंमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ। ब्यूरोका अनुसार ९८५१२८६७७०, ९८५१२८६७७१ नम्बर वा cyberbureau@nepalpolice.gov.np इमेलमार्फत सम्पर्क गर्न सकिन्छ।
