काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएका कमजोरीबारे छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा समिति गठन गरेको छ।
प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएपछि छानबिन समिति गठन गरिएको हो। समितिमा काठमाडौं प्रहरीबाट समेत अनुसन्धानमा खटाइएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्।
छानबिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजु अधिकारीलाई समेत खटाइएको छ। तर, पछिल्लो समय विवादमा आएका अधिकारीलाई संवेदनशील घटनाको छानबिनमा खटाइएपछि प्रहरीभित्रै प्रश्न उठ्न थालेको छ।
अधिकारी प्रहरी निरीक्षक हुँदा समेत विवादमा परेको र सोही कारण उनी पछिल्लो लटमा डीएसपीमा बढुवा भएका थिए।
काठमाडौं प्रहरीको मुद्दा शाखामा कार्यरत रहेका अधिकारीको कार्यशैलीलाई लिएर समेत गुनासो आउने गरेको बताइन्छ। मुद्दा शाखामा काम लिएर पुग्ने सर्वसाधारणसँग रुखो व्यवहार गर्ने तथा चिनजानका व्यक्तिलाई प्राथमिकता दिने गरेको आरोप उनीमाथि लागेको छ।
त्यस्तै, मुद्दा शाखामा आफ्नो प्रभाव प्रयोग गर्ने र पहुँचका आधारमा काम अघि बढाउने गरेको आरोपसमेत उनीमाथि लाग्ने गरेको प्रहरी स्रोत बताउँछ।
यता, तीन वर्षीया बालिका बेपत्ता भएपछि खोजीमा प्रहरीले पर्याप्त चासो नदिएको, अनुसन्धानमा कमजोरी गरेको तथा घटनाका आरोपीको बयानको भिडियो बाहिरिएको विषयले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ।
प्रहरीको भूमिकामाथि नै छानबिन भइरहेको यस्तो संवेदनशील घटनामा विगतमा विवादमा आएका अधिकारीलाई समेत अनुसन्धानको जिम्मेवारी दिइएपछि समितिको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने देखिएको छ।
