काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप, पार्टपुर्जा तथा चुरोट बरामद भएको छ। छुट्टै घटनामा विदेशबाट आएका तीन यात्रुलाई प्रयोग गरी ल्याइएको ७५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका तीनवटा सिक्रीसमेत प्रहरीले बरामद गरेको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले भदौ ५ र ६ गते गरेको निगरानी तथा जाँचका क्रममा भन्सार छलीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक गरेको हो।
घटनामा संलग्न भएको आरोपमा एक चिनियाँ र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
तीन यात्रुलाई ‘भरिया’ बनाएर ७५ ग्राम धातु
भदौ ५ गते कतारको दोहा हुँदै नेपाल वायुसेवा निगमको उडानबाट काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रमा निगरानी बढाएको थियो।
सो क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय कृष्ण यादवलाई विदेशबाट आएका तीन यात्रुले ल्याएका सिक्री सङ्कलन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यादवको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका तीनवटा सिक्री बरामद भएका छन्। ती सिक्रीको कुल तौल करिब ७५ ग्राम रहेको छ। प्रहरीले बरामद धातु सुन नै हो भन्ने पुष्टि भने गरिसकेको छैन। परीक्षण तथा भन्सार अनुसन्धानपछि मात्रै धातुको वास्तविक प्रकृति र मूल्य खुल्नेछ।
प्रहरीका अनुसार यादवले तीन यात्रुलाई सिक्री ल्याइदिएबापत जनही १० हजार रुपैयाँ दिने तयारी गरेका थिए। उनको साथबाट यात्रुलाई दिन लागिएको भनिएको ३० हजार रुपैयाँ नगदसमेत बरामद भएको छ।
प्रहरीले विदेशबाट आउने यात्रुले व्यक्तिगत प्रयोजनका लागि ल्याउन पाउने गरगहनासम्बन्धी सुविधाको दुरुपयोग गर्दै निश्चित रकम दिएर यात्रुलाई ‘भरिया’ बनाई सुन तथा बहुमूल्य धातु ओसारपसार गराउने समूह सक्रिय रहेको आशंका गरेको छ।
चिनियाँ नागरिकबाट ७२ लाखका सामान बरामद
यसैगरी, भदौ ६ गते अपराह्न करिब ४ः३० बजे चाइना इस्टर्न एयरलाइन्सको उडानबाट नेपाल आएका चीनको ग्वाङडोङ निवासी २९ वर्षीय चेन जुनसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले सोधपुछ तथा सामान जाँच गरेको थियो।
जाँचका क्रममा बिलबिजक नभएका मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा, डिस्प्ले कभर र चुरोट बरामद भएको प्रहरीले जनाएको छ।
उनको साथबाट मोबाइल डिस्प्लेका २६५ थान पार्टपुर्जा तथा मोबाइलको अगाडि र पछाडिको भागमा प्रयोग हुने २५७ थान ‘हाउजिङ’ बरामद गरिएको छ।
त्यसैगरी, आइफोनका नौवटा खाली बाकस, सातवटा ‘आइफोन १७ प्रो’, पाँचवटा ‘आइफोन १४’, दुईवटा ‘आइफोन १५’, दुईवटा ‘आइफोन १५ प्रो’, एक–एक थान ‘आइफोन १५ प्रो म्याक्स’ र ‘आइफोन १६ प्रो म्याक्स’ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले ‘आइफोन १७ प्रो म्याक्स २५६ जीबी’ लेखिएको प्रयोग भइसकेको एउटा मोबाइल, आइफोनका सातवटा हाउजिङ तथा नौवटा ब्याट्रीसमेत फेला पारेको छ।
त्यस्तै, पाँचवटा एचपी ल्यापटप र तीनवटा डेल डिस्प्ले कभर पनि बरामद गरिएको छ। मोबाइल तथा कम्प्युटरजन्य सामग्रीसँगै ‘नानजिङ’ ब्रान्डका २४ बन्डल र ‘प्राइड’ ब्रान्डका दुई बन्डल चुरोटसमेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद सम्पूर्ण सामानको अनुमानित मूल्य ७२ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुवै घटनामा बरामद सामग्री र नियन्त्रणमा लिइएका व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
भन्सार कार्यालयले बरामद सामानको स्रोत, नेपालमा बुझ्ने व्यक्ति तथा सम्भावित कारोबारी सञ्जालबारे थप अनुसन्धान गर्नेछ।
