जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश कुमार यादव मधेश प्रदेश प्रहरीतर्फ २०८३ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई Best Province Police of the Month छनोट गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ।
साउन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई सर्वोत्कृष्ट प्रहरी छनोट गरिएको हो। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले यादवलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना दिए।
उत्कृष्ट प्रहरी घोषित यादवलाई प्रदेश प्रहरी प्रमुख अधिकारीले आगामी दिनमा पनि जिम्मेवारीलाई थप प्रभावकारी ढंगले निर्वाह गर्दै प्रहरी संगठनको गरिमा उँचो राख्न प्रेरित गरेका छन्।
मधेश प्रदेश प्रहरीले प्रहरी कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा उत्कृष्ट योगदानको मूल्यांकन गर्दै प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।
