काठमाडौं । भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट खैरो हेरोइन खरिद गरी काठमाडौं उपत्यकामा ल्याएर बिक्री गर्ने समूहविरुद्ध कारबाही गर्दै लागुऔषध नियन्त्रण ब्यूरोले चार जनालाई पक्राउ गरेको छ।
ब्यूरोले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूको साथबाट १४८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु र ९० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
ब्यूरोका अनुसार भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट लागुऔषध खैरो हेरोइन खरिद तथा संकलन गरी काठमाडौं उपत्यकामा ल्याएर दुर्व्यसनीलाई बिक्री गर्ने व्यक्तिहरूको ‘प्रोफाइलिङ’ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
ब्यूरोले २०८३ भदौ ४ गते सिरहाबाट दुई जना, भदौ ५ गते मोरङको बेलबारीबाट एक जना र भदौ ६ गते एक जना गरी चार जनालाई पक्राउ गरेको हो।
भदौ ४ गते सिरहाको सिरहा नगरपालिका–१४ का २७ वर्षीय रितेश कुमार यादव र मिर्चैया नगरपालिका–३ का २२ वर्षीय अभिषेक यादवलाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट ३७ ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ।
त्यस्तै, भदौ ५ गते मोरङको बेलबारी नगरपालिका–१० का २९ वर्षीय मनोज बस्नेतलाई १३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
भदौ ६ गते भने १८ ग्राम खैरो हेरोइनसहित १७ वर्षीय एक किशोर पक्राउ परेका छन्। ब्यूरोले उनको वास्तविक नाम र ठेगाना सार्वजनिक गरेको छैन।
बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम उनलाई भक्तपुरस्थित बाल अदालतको आदेशअनुसार निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूको सञ्जाल पहिचान गर्दै अनुसन्धानलाई थप अघि बढाइएको छ।
भारतसँगको खुला सीमाका कारण नेपालमा खैरो हेरोइन भित्रिने गरेको र यसको कारोबारमा संलग्न समूह पहिचान गरी कारबाही गर्ने कामलाई ब्यूरोले प्राथमिकतामा राखेको छ।
पक्राउ परेका चारै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
