जनकपुर । मधेस प्रदेश सरकारले प्रदेश मातहतका प्रहरीलाई चार करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यका १२ वटा पिकअप गाडी हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका प्रहरी कार्यालयलाई गाडी हस्तान्तरण गरेको हो ।
मन्त्रालयका अनुसार आठवटै जिल्लाका प्रहरी प्रमुखलाई एक–एक थानका दरले गाडी उपलब्ध गराइएको छ । प्रदेश मातहतका प्रहरी युनिटको कामलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले जिल्ला प्रहरी प्रमुखहरूलाई बोलाएर गाडी हस्तान्तरण गरिएको मधेसका गृहमन्त्री फकिरा महतोले जानकारी दिए ।
प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउँदा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा प्रहरीको दैनिक कार्यसम्पादनमा सहजता पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
गृहमन्त्री महतोका अनुसार प्रदेश सरकारले अब केही समयपछि प्रहरीलाई थप मोटरसाइकलसमेत वितरण गर्ने तयारी गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार सोमबार हस्तान्तरण गरिएका १२ वटा पिकअप गाडीको कुल मूल्य चार करोड ६८ लाख रुपैयाँभन्दा बढी छ ।
प्रदेश मातहतका प्रहरी कार्यालय तथा युनिटमा सवारीसाधनको अभावका कारण प्रहरीको नियमित गस्ती, अपराध अनुसन्धान तथा तत्काल घटनास्थलमा पुग्न समस्या हुँदै आएको अवस्थामा नयाँ गाडीले प्रहरीको परिचालन क्षमता बढाउने अपेक्षा गरिएको छ ।
