काठमाडौं । बाराकी दुई वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपी किशोरको बयानको भिडियो खिचेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
आरोपी किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले भिडियो कसले खिचेको भन्ने विषयमा अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा बयानको भिडियो खिच्ने प्रहरीमध्ये एक जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
बयान कक्षमा आरोपीको भिडियो खिच्नु नै गम्भीर विषय भएकाले पक्राउ परेका प्रहरीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भिडियो खिच्ने क्रममा पाँच जना प्रहरी देखिएका छन्। उनीहरूमध्ये अन्यको संलग्नता तथा भिडियो खिच्नुको उद्देश्यबारे समेत अनुसन्धान भइरहेको छ।
यता, प्रहरीको बयान कक्षबाटै संवेदनशील भिडियो बाहिरिएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। भिडियो सामाजिक सञ्जालमा कसरी पुग्यो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
