काठमाडौं । दुई वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरले घटनाबारे सनसनीपूर्ण बयान दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले घटनाको योजनामा सिमरा बस्ने प्रदीप खड्का संलग्न रहेको र आफूले बालिकालाई चकलेटको प्रलोभन देखाएर घरमा लगेको दाबी गरेका छन्।
किशोरका अनुसार घटनाअघि प्रदीप पनि बालबालिका खेलिरहेको स्थानमा थिए। आफूले चकलेट किनेर ल्याएपछि त्यसको प्रलोभन देखाएर बालिकालाई एउटा घरमा लगेको उनले बताएका छन्।
भिडियोमा उनले भनेका छन्, ‘बच्चाहरू खेलिराख्या थिए । त्यो प्रदीप पनि त्यहीँ थियो । तिनीहरूले हेरिराथ्यो । म चकलेट किनेर आएँ अनि चकलेटको लालच दिएर एउटा घरमा लिएर गएँ त्यसलाई । त्यो घर कसको हो थाहा छैन ।’
उनले आफूलाई प्रदीपले घटनाका लागि उक्साएको दाबीसमेत गरेका छन्। बालिकालाई घरमा लगेपछि आफू र प्रदीप दुवैले उनीमाथि आपराधिक हर्कत गरेको उनले बताएका छन्।
किशोरका अनुसार बालिका बेहोस भएपछि प्रदीप त्यहाँबाट भागेका थिए। त्यसपछि आफूले बालिकालाई त्यही घरमा रहेको डोरीले बाँधेर तन्नामा बेरेको र ढोकामा चुकुल लगाएर त्यहाँबाट हिँडेको उनले बताएका छन्।
भिडियोमा किशोरले घटनाको योजनादेखि बालिकालाई चकलेटको प्रलोभन देखाएर लैजाने र घटनापछि आफूले गरेको कामसम्मका विषयमा खुलेर बोलेका छन्। उनले घटनामा प्रदीप खड्काको संलग्नता रहेको दाबी गरेका छन्।
यद्यपि, भिडियोमा किशोरले लगाएका आरोप तथा उनले लिएको प्रदीप खड्काको नाम अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। प्रहरीले यसअघि सार्वजनिक गरेको विवरणमा प्रदीप खड्काको नाम उल्लेख गरेको थिएन।
यसैबीच, संवेदनशील अनुसन्धानका क्रममा तयार भएको उक्त भिडियो सामाजिक सञ्जालमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले गोप्य रूपमा अनुसन्धान थालेको छ। स्रोतका अनुसार प्रहरीको साइबर ब्युरोले भिडियो सबैभन्दा पहिले कसले सामाजिक सञ्जालमा पोस्ट गरेको थियो भन्ने पत्ता लगाउन डिजिटल ट्रेलको अनुसन्धान गरिरहेको छ।
भिडियो सुरुमा पोस्ट गर्ने व्यक्ति पहिचान भएपछि उक्त व्यक्तिसम्म भिडियो कसले पठाएको थियो भन्ने विषयसमेत खुल्ने प्रहरीको अपेक्षा छ। प्रहरीले भिडियो बनाएर सार्वजनिक गर्ने व्यक्ति वा व्यक्तिहरूमाथि समेत अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ।
