बारा । बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको घटनामा पक्राउ परेका एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीले उक्त भिडियो सुरुमा कसले सार्वजनिक गरेको हो भन्ने विषयमा गोप्य अनुसन्धान थालेको छ।
स्रोतका अनुसार भिडियो भाइरल भएको लगत्तै नेपाल प्रहरीको साइबर ब्युरोलाई पहिलो पटक उक्त भिडियो पोस्ट गर्ने व्यक्तिको पहिचान गर्न जिम्मेवारी दिइएको छ। अनुसन्धानको मुख्य उद्देश्य भिडियोको ‘ओरिजिन’ अर्थात् पहिलो स्रोत पत्ता लगाउनु रहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार साइबर ब्युरोले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भिडियोको डिजिटल ट्रेल खोजिरहेको छ। सुरुमा कसले पोस्ट गरेको खुल्न सकेपछि त्यस व्यक्तिसम्म भिडियो कसले पठाएको थियो भन्ने श्रृंखला पनि पत्ता लाग्ने विश्वास गरिएको छ।
भाइरल भिडियोमा हातमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरी देखिन्छन् भने अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा डाक्टरले प्रश्न सोधिरहेको दृश्य रहेको छ। यही भिडियो बाहिरिएपछि प्रहरीकै अनुसन्धान प्रोटोकलमाथि प्रश्न उठेको थियो।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले भिडियो स्वास्थ्य परीक्षणका क्रममा बनेको र प्रहरीका दुई ड्युटी अफिसर उपस्थित रहेको बताएका छन्। तर भिडियो कसरी सामाजिक सञ्जालसम्म पुग्यो भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा रहेको स्रोतले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले यस्ता संवेदनशील मुद्दामा अनुसन्धानका क्रममा बनेका अडियो–भिडियो सार्वजनिक हुनु प्रहरी प्रोटोकलविपरीत हुने स्वीकार गरिसकेका छन्। प्रहरी मुख्यालय र मधेश प्रदेश प्रहरीबाट समेत घटनाबारे छुट्टाछुट्टै बुझ्ने काम भइरहेको छ।
अब प्रहरीको अनुसन्धान भिडियो बनाउनेभन्दा पनि सुरुमा कसले बाहिर ल्यायो र कसको माध्यमबाट भाइरल भयो भन्ने दिशामा केन्द्रित भएको बताइएको छ।
