सप्तरी । सप्तरीमा सौताबीचको विवादका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।
शम्भुनाथ नगरपालिका–३ की दुई वर्षीया सान्या खातुनको शव आइतबार बिहान घरपछाडिको झाडीमा फेला परेको थियो। बिहानैदेखि बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बालिकाकी कान्छीआमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको छ। सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मुस्कानले बालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छन्। बालिकाको शरीरमा अन्य चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुस्कान र बालिकाकी आमा रुविना खातुनबीच यसअघि पनि पटक–पटक विवाद हुँदै आएको थियो। शनिबारसमेत उनीहरूबीच झगडा भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्।
रुविनाको मोहम्मद इरफासँग करिब सात वर्षअघि विवाह भएको थियो। त्यसको केही वर्षपछि इरफासले कान्छी श्रीमतीका रूपमा मुस्कानलाई विवाह गरी विदेश गएको बताइएको छ। हाल इरफास रोजगारीका सिलसिलामा कतारमा छन्। मुस्कान भने सोही गाउँमा डेरा लिएर बस्दै आएकी थिइन्।
स्थानीयका अनुसार मुस्कान बेला–बेला रुविना बस्ने ठाउँमा जाने र उनीहरूबीच विवाद हुने गरेको थियो।
बालिकाको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए।
