दाङ । काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेलगत्तै दाङमा उनकी आमाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीले काठमाडौंमा रहेका जेठा छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि ज्यान गुमाएकी हुन्।
दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा वसन्तमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। वसन्त फ्रान्स जाने तयारीका लागि काठमाडौंमा बसेर भाषा अध्ययन गरिरहेका थिए।
छोराको हत्या भएको खबर सुनेलगत्तै घरमै रहेकी बिना अचेत भएर ढलेकी थिइन्। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
वसन्तका बुवा रोमहर्श कालाथोकी रोजगारीका लागि मलेसियामा थिए। श्रीमती र छोराको मृत्युको खबरपछि उनी सोमबार नेपाल फर्किँदै छन्। अहिले बिनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने वसन्तको शव काठमाडौंमा छ।
वसन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
घरमा रहेका ११ वर्षीय कान्छा छोरा शिशिरलाई अहिले हजुरबुवाको जिम्मा लगाइएको छ। एउटै परिवारमा छोटो समयमै भएको यो दोहोरो वियोगले घोराही–१७ को बस्ती शोकमा डुबेको छ।
