काठमाडौं । एउटा प्रहरी जवानको पोशाकबाट सुरु भएको यात्रा आज नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदसम्म पुगेको छ। यो यात्रा केवल पदोन्नतिको कथा होइन, निरन्तर मेहनत, त्याग, धैर्यता र दृढ इच्छाशक्तिको प्रेरणादायी उदाहरण हो।
२०७३ सालमा प्रहरी जवानका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका कमलेश पासवानले करिब एक दशक लामो सेवायात्रापछि २०८३ सालमा आएको अन्तिम नतिजामा प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भएका छन्।
प्रहरी सेवामा प्रवेश गर्दा उनको जिम्मेवारी सीमित थिएन। चौबीसै घण्टाको ड्युटी, रातदिनको खटाइ, चाडपर्वमा समेत परिवारबाट टाढा रहनुपर्ने बाध्यता र संगठनको कडा अनुशासनबीच उनले आफ्नो अर्को सपना पनि सँगसँगै बोकेर हिँडे- प्रहरी निरीक्षक बन्ने सपना।
ड्युटीको व्यस्तताबीच अध्ययनलाई निरन्तरता दिनु आफैंमा चुनौतीपूर्ण थियो। तर, कठिनाइले उनको लक्ष्यलाई रोक्न सकेन। प्रहरी जवानका रूपमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै उनले अध्ययनलाई पनि निरन्तरता दिए। अन्ततः त्यही निरन्तर मेहनतले उनलाई प्रतिस्पर्धात्मक परीक्षामार्फत प्रहरी निरीक्षकको जिम्मेवारीसम्म पुर्याएको छ।
जवानबाट निरीक्षक बन्ने उनको यात्रा एउटा पद परिवर्तन मात्र होइन, ‘गरे के हुँदैन र ?’ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गर्ने उदाहरण बनेको छ।
उनको सफलताले प्रहरी संगठनभित्रका तल्लो तहमा कार्यरत कर्मचारीदेखि आफ्नो लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेका हजारौँ युवालाई एउटा महत्वपूर्ण सन्देश दिएको छ- परिस्थिति जस्तोसुकै भए पनि लक्ष्यप्रतिको दृढता र निरन्तर मेहनत भए सफलता सम्भव छ।
कमलेशले प्रमाणित गरेका छन्, सफलता प्राप्त गर्न अवसर मात्र पर्याप्त हुँदैन, त्यसका लागि अवसरलाई परिणाममा बदल्ने इच्छाशक्ति पनि चाहिन्छ।
एक दशक लामो संघर्ष, कर्तव्यप्रतिको निष्ठा र अध्ययनप्रतिको निरन्तरतालाई सफलताको उचाइमा पुर्याएका कमलेश पासवान हुन्।
उनको यो यात्रा संघर्ष गरिरहेका हरेक युवाका लागि ‘सपना देख्नुस्, मेहनत गर्नुस् र लक्ष्य प्राप्त नभएसम्म नरोकिनुस्’ भन्ने जीवित प्रेरणा बनेर रहनेछ।
