सप्तरी । तस्करीका सामानसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई छाडेको तथा घटनाको विवरण बंग्याएको आरोपमा सप्तरीको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मा जिल्ला प्रहरी कार्यालय तानिएका छन्।
भारतबाट भन्सार छली ल्याइएको मोबाइलका पार्टपुर्जा, मोटरसाइकल तथा तस्करीका भरिया भनिएका सुनिल मण्डललाई साउन १८ गते स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। सोही क्रममा सामान र भरियालाई छुटाउन पुगेका मुख्य कारोबारी भनिएका देवकुमार यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
तर, नियन्त्रणमा लिइएका दुवै जनालाई पछि छाडिएको तथा बरामद सामान र घटनासम्बन्धी मुचुल्कासमेत फेरबदल गरिएको आरोप सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो।
घटनालाई ढाकछोप गर्न साउन १९ गते राति प्रहरीले बेवारिसे अवस्थामा सामान बरामद भएको र तस्करहरू फरार भएको विवरण सार्वजनिक गरेको आरोप लागेको छ। घटनाबारे स्थानीयस्तरमा विरोध बढेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले डीएसपी हेमराज घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रारम्भिक छानबिनका क्रममा सई शर्माले माथिल्लो निकायमा घटनाबारे गलत प्रतिवेदन दिएको पाइएको प्रहरी स्रोतको दाबी छ। त्यसपछि उनलाई बोदेबरसाइनबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा तानिएको हो। उनको स्थानमा सई गुप्तबहादुर राउतलाई बोदेबरसाइनको प्रमुखको जिम्मेवारी दिइएको छ।
कटहरियामा पनि विवादमा परेका थिए शर्मा
सई शर्मा यसअघि रौतहटको इलाका प्रहरी कार्यालय कटहरियाको प्रमुख हुँदा पनि विवादमा आएका थिए। त्यतिबेला उनीमाथि तस्करसँग मिलेमतो गरेको आरोप लागेको थियो।
त्यसैगरी, प्रहरी कार्यालयमा भेट्न आउने व्यापारी तथा जनप्रतिनिधिसँग जथाभावी रकम माग्ने गरेको आरोपसमेत उनीमाथि लागेको थियो। उक्त आरोप सार्वजनिक भएपछि उनलाई कार्यअवधि पूरा हुनुअघि नै कटहरियाबाट हटाइएको थियो।
पछिल्लो पटक सप्तरीमा पनि तस्करी प्रकरणमा विवादमा परेपछि शर्मा पुनः जिल्ला तानिएका हुन्। यद्यपि, शर्मामाथि लागेका आरोपबारे थप छानबिन भइरहेको छ।
