काठमाडौं । ठमेल क्षेत्रमा सञ्चालन गरिएको रात्रिकालीन विशेष अपरेसनका क्रममा डान्सबार, क्लब तथा दोहोरीमा दलाली गर्ने र ती क्षेत्रमा काम गर्ने युवतीहरूसहित करिब ९० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्यटकलाई हैरानी दिने, सडकमा ग्राहक तान्ने तथा डान्सबार, क्लब र दोहोरी आसपास दलाली गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले ठमेल क्षेत्रमा रात्रिकालीन निगरानी तथा विशेष अपरेसन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउने, गुण्डागर्दी तथा पर्यटकलाई दुःख दिने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले रात्रिकालीन अपरेसनलाई तीव्र बनाएको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
