काठमाडौं । बाराको जितपुरसिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलन भइरहेका बेला प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखेको दाबी गरेको हो।
प्रहरीका अनुसार २०८३ भदौ १ गते बिहान करिब ८ः३० बजे गरिमा हराएको भन्दै उनकी आमा मानमति चौधरी थारुले जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएकी थिइन्। निवेदन प्राप्त हुनासाथ प्रहरीले मातहतका कार्यालय तथा तालुक कार्यालयमा हुलिया परिपत्र गरी खोजतलास सुरु गरेको जनाएको छ।
खोजीका क्रममा प्रहरीले हुलास पछाडि, जगदम्बा पछाडि, सिमरा चोक, जितपुर, विमानस्थल, रंगशाला आसपासको जंगल, औराहालगायतका सम्भावित स्थानमा खोजतलास गरेको थियो।
त्यस्तै पथलैया, दशधुरे, दुधौरा बस्ती, जितपुर तथा सिमरा चोकलगायतका क्षेत्रमा प्रहरी टोली र क्यूआरटी टोली परिचालन गरिएको थियो। प्रहरीले विभिन्न स्थानमा रहेका सीसीटीभी फुटेजसमेत जाँच गरेको जनाएको छ।
भदौ २ गते मृतकका बुबा, स्थानीय समाजसेवी र प्रहरीको संयुक्त टोलीले शंकास्पद स्थानको सीसीटीभी फुटेज तथा प्राविधिक पक्षबाट समेत अनुसन्धान गरिरहेका बेला जितपुरसिमरा–१ स्थित वीरबहादुर रोकाको खाली घरबाट शंकास्पद गन्ध आएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनापछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखसहितको टोली घटनास्थल पुगेको थियो। नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भदौ २ गते राति करिब १० बजे दुई जना शंकित व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानमा जितपुर–२ का १६ वर्षीय सुमन थापाले नाबालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीको दाबी छ।
घटनामा संलग्न रहेको आरोपमा ना.१ ज ७७५८ नम्बरको म्याजिकका चालक जितपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी भदौ ३ गते बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
