गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जनासहित लाइसेन्सबिना भरुवा बन्दुक राख्ने अर्का एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।
प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो ‘Prem Sunar’ नामको फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।
प्रेम सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
