काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा सेवा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरी दोषी ठहर भएका छन्।
विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५२ सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सइ) पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रूपमा कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ८ गते गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
गिरीले पेस गरेको रोल नम्बर ७१८ को प्रमाणपत्रको क्रमसंख्या नै नभेटिएको भन्दै बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटना, भारतले पत्र पठाएको थियो। सोही प्रमाणका आधारमा विशेष अदालतले गिरीलाई दोषी ठहर गरेको हो।
