काठमाडौं । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्री र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापालाई जिम्मेवारीबाट हटाइएको छ।
घटनाको अनुसन्धान तथा प्रहरी परिचालनमा कमजोरी भएको भन्दै डीएसपी क्षेत्री र इन्स्पेक्टर थापालाई सिमराबाट हटाइएको हो।
डीएसपी क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाइएको छ। प्रहरी निरीक्षकको स्थानमा भने कसलाई पठाउने भन्नेबारे थप निर्णय हुने बताइएको छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी नेतृत्वले सिमराको कमान्ड परिवर्तन गरेको हो। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीमाथि दबाब बढिरहेका बेला डीएसपीसहित इन्स्पेक्टर तानिएका हुन्।
प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।
