काठमाडौं । ललितपुरको सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेका प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिल बहादुर सिंह ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरले साउन महिनाका लागि सिंहलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले उनलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका छन्।
सातदोबाटो प्रहरी वृत्तमा कार्यरत सिंहले फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, लागुऔषध नियन्त्रण तथा जुवातास नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
सातदोबाटो क्षेत्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा देखाएको सक्रियता र कार्यसम्पादनका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको परिसरले जनाएको छ।
