काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ वर्ष पुग्न लाग्दा हत्यारा पत्ता लगाउन गठित एसएसपी कृष्ण पंगेनी नेतृत्वको अनुसन्धान समितिले कञ्चनपुर पुगेर अनुसन्धान थालेपछि काठमाडौं फर्किएको छ।
अपराध अनुसन्धान विभागका एसएसपी पंगेनीको नेतृत्वमा गठित समितिमा एसपी दधिराम न्यौपाने, प्रहरी महानिरीक्षकको सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर वीरेन्द्र बिसीलगायत १५ जना सदस्य छन्।
समितिका संयोजक पंगेनीसहितको टोली यसै साता कञ्चनपुर पुगेर घटनासँग सम्बन्धित विषयमा स्थलगत अध्ययन तथा आवश्यक सोधपुछ गरी काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकृतले बताए।
निर्मला पन्तको हत्या भएको आठ वर्ष पुग्न लाग्दा पनि घटनाको निष्कर्ष ननिस्किएपछि प्रहरी प्रधान कार्यालयले नयाँ ढंगबाट अनुसन्धान अघि बढाउन पंगेनी नेतृत्वमा समिति गठन गरेको हो। यसअघि पनि निर्मला प्रकरणको अनुसन्धानका लागि पटक–पटक समिति गठन भए पनि हत्यारा पहिचान हुन सकेको छैन।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाको सुरुदेखि नै अनुसन्धान गर्दै आएको छ। सीआईबीको जघन्य अपराध अनुसन्धान गर्ने ‘पिल्लर–१’ले घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ।
प्रहरीले यसअघि डीएनए परीक्षणलाई अनुसन्धानको मुख्य आधार बनाएको थियो। अहिलेसम्म १२३ जनाभन्दा बढी शंकितको डीएनए परीक्षण गरिए पनि घटनास्थलबाट प्राप्त नमुनासँग मेल नखाएपछि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।
अब भने प्रहरीले प्राविधिक अनुसन्धानसँगै मानव स्रोतबाट सूचना संकलन र विश्लेषण गर्ने विधिलाई पनि प्राथमिकता दिएको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले पंगेनी नेतृत्वको समितिले नतिजा आउने गरी अनुसन्धान अघि बढाइरहेको बताए।
२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो। घटनाको आठ वर्ष पुग्न लाग्दासमेत हत्यारा सार्वजनिक हुन नसकेपछि नयाँ अनुसन्धान समितिको सक्रियतालाई चासोका साथ हेरिएको छ।
