काठमाडौं । नेपालका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको छ। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्।
समितिको बैठकमा सांसदहरूले पूर्वप्रधानमन्त्रीहरूमाथि परेको उजुरीबारे प्रश्न गरेका थिए। जवाफमा प्रमुख आयुक्त राईले जीवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी आएको बताए।
‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ,’ राईले भने, ‘यस विषयमा धेरै भन्न मिलेन। उजुरीबारे हेर्दै छौं।’
राईले उजुरीको प्रकृति, कसले उजुरी दिएको तथा कुन विषयमा उजुरी परेको भन्नेबारे भने थप विवरण सार्वजनिक गर्न अस्वीकार गरे। आयोगले प्राप्त उजुरीमाथि अध्ययन तथा छानबिन गरिरहेको उनको भनाइ थियो।
हाल पूर्वप्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र सुशीला कार्की रहेका छन्। यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि छन्।
यससँगै मुलुकका जीवित पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष सबैजसोमाथि अख्तियारमा उजुरी परेको देखिएको छ। यद्यपि उजुरी पर्दैमा सम्बन्धित व्यक्तिमाथि भ्रष्टाचार वा अनियमितता पुष्टि भएको भने मानिँदैन।
आयोगले उजुरीमाथि प्रारम्भिक अध्ययन गरी आवश्यक देखिएमा थप अनुसन्धान अघि बढाउने गर्छ।
