नवलपरासी । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो।
बालक हराएपछि स्थानीय बासिन्दा तथा छरछिमेकीले आसपासका क्षेत्रमा खोजतलास गरेका थिए। तर तत्काल फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी र स्थानीयको संयुक्त खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको हो।
दुई दिनसम्म जंगल क्षेत्रमा हराएका बालक सकुशल फेला परेपछि परिवार र स्थानीयले राहत महसुस गरेका छन्। उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
