काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी)माथि आफूले उठाउँदै आएको प्रश्न र आरोपबाट पछि नहट्ने बताएका छन्। उनले आफूले प्रहरी प्रधान कार्यालयमा बिचौलियाको प्रभाव रहेको भन्दै यसअघि उठाएको प्रश्नमा आफू ‘अडिग र मजबुत’ रहेको बताएका हुन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आफूले यसअघि प्रहरीको नेतृत्व र खरिद प्रक्रियामाथि उठाएको प्रश्नको जवाफ दिनुको सट्टा व्यक्तिगत रूपमा विवादमा लैजान खोजिएको संकेत गरे।
यसअघि सार्वजनिक लेखा समितिकै बैठकमा सुनारले आईजीपीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए। उनले प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको आरोप लगाउँदै त्यसको छानबिन आवश्यक रहेको बताएका थिए। सुनारका अभिव्यक्तिपछि प्रहरी संगठन र उनीबीच सार्वजनिक रूपमा नै आरोप–प्रत्यारोप र चर्को द्वन्द्व देखिँदै आएको छ।
त्यसैको निरन्तरताका रूपमा बिहीबारको समितिको बैठकमा पनि सुनारले आफ्नो अडान दोहोर्याए। उनले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन समितिले माग गरेको स्मरण गराउँदै उक्त कागजात आएको वा नआएकोबारे प्रश्न गरे।
त्यसबीच प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै उनले खरिद प्रक्रियामाथि थप प्रश्न उठाए।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यहीबीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ उनले भने।
सुनारले त्यसपछि प्रहरी प्रधान कार्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप दोहोर्याए।
‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।
आफूले उठाएका प्रश्नका कारण कसैको मानमर्दन भएको भए त्यसको कानुनी उपचार खोज्न पनि उनले चुनौती दिएका छन्।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु,’ उनले भने।
सुनारले सार्वजनिक लेखा समिति सार्वभौम निकाय भएकाले समितिको बैठकलाई व्यक्तिगत आरोप–प्रत्यारोपको थलो बनाउन नहुने बताए। उनले समितिमा उपस्थित भएर एक–अर्कासँग जुहारी खेल्ने शैलीमा प्रस्तुत हुनु उचित नभएको धारणा राखे।
आईजीपीको बर्खास्ती र छानबिनको मागदेखि सुरु भएको विवाद
सुनारले यसअघि प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै आईजीपीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्नुपर्ने माग गरेका थिए। प्रहरीको खरिद प्रक्रिया, स्रोत–साधनको व्यवस्थापन तथा नेतृत्वको भूमिकालाई लिएर उनले सार्वजनिक लेखा समितिमा प्रश्न उठाएपछि प्रहरी संगठन र उनीबीच विवाद बढेको हो।
पछिल्लो बैठकमा समेत उनले आफ्ना प्रश्नबाट पछि नहट्ने स्पष्ट पारेका छन्। बरु आफूले उठाएका विषयमा कानुनी चुनौती आए अदालतमा समेत जवाफ दिन तयार रहेको भन्दै उनले प्रहरी नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएका छन्।
यससँगै सार्वजनिक लेखा समितिमा सांसद सुनारले उठाएको प्रहरी नेतृत्वसम्बन्धी प्रश्न र त्यसपछि प्रहरी संगठन तथा सुनारबीच देखिएको टकराव थप चर्किने संकेत देखिएको छ।
