काठमाडौं । चितवन र गोरखा जिल्लामा निर्माणको चरणमा रहेको १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूसँग गत बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भयो।
आयोजना निर्माण, प्रसारण पूर्वाधार तथा सडक सुधारलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा गोरखा–१ बाट निर्वाचित सांसदसमेत रहेका गृहमन्त्री सुधन गुरुङ पनि सहभागी थिए।
करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सुपर त्रिशूली जलविद्युत् आयोजना नेपालमा फरक मोडेलमा अघि बढाइएको आयोजनाका रूपमा प्रस्तुत गरिएको छ। आयोजनासँग सम्बन्धित एआईए, आईई, पीपीएलगायत प्रक्रिया पूरा भइसकेको र यसअघि स्थानीय बासिन्दासँग पटक–पटक सार्वजनिक सुनुवाइ गरिएको छ।
तर बैठकमा गृहमन्त्री गुरुङले आयोजनाको अर्को सार्वजनिक सुनुवाइ तत्काल गर्न निर्देशन दिएका थिए। सहभागीका अनुसार गुरुङले ‘म अरू कुरा जान्दिनँ, त्यहाँ धेरै समस्या रहेछ, आइतबार नै पब्लिक हेयरिङ गर्नुहोस्’ भन्दै सार्वजनिक सुनुवाइको मिति नै तोकेर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
आयोजना सञ्चालकहरूले स्थानीयस्तरमा भदौ महिनामा सार्वजनिक सुनुवाइ गर्ने तयारी भइरहेको जानकारी गराए पनि गृहमन्त्री गुरुङले आइतबार नै कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए।
गृहमन्त्रीको यस्तो निर्देशनपछि बैठकमा सहभागीमध्ये हेडिङ सुपर त्रिशुलीका कन्सल्ट्यान्ट सलिन देवकोटाले गृहमन्त्री बाहिरिएपछि गरेको भनिएको टिप्पणी अहिले चर्चामा आएको छ।
स्रोतका अनुसार क्याबिनेट बैठकमा सहभागी हुन गृहमन्त्री बैठकबाट बाहिरिएपछि देवकोटाले ‘यस्ता गृहमन्त्री त २५–३० जना बेहोरिसक्यौँ, सिधै भने भइहाल्यो, अब कांग्रेस, एमाले, माओवादीलाई दिएकै हो, अब यिनीहरूलाई पनि दिउँला’ भन्ने आशयको टिप्पणी गरेका थिए।
‘हामीले नियमअनुसार गर्नुपर्ने सार्वजनिक सुनुवाइहरू नियमित गरिरहेका छौँ। गृहमन्त्रीले मिति नै तोकेर सार्वजनिक सुनुवाइ गर भन्नु नियमविपरीतको कुरा हो। गृहमन्त्रीले तोकेको मितिमा नै सार्वजनिक सुनुवाइ गर्न सकिँदैन,’ देवकोटाले भने।
यता सुपर त्रिशूलीका सञ्चालक निराजन रेग्मीले भने गृहमन्त्रीले सम्बन्धित क्षेत्रको सांसदका रूपमा आयोजनाप्रति चासो राखेको आफूले बुझेको बताए।
‘गृहमन्त्रीज्यूले सम्बन्धित क्षेत्रको सांसदको हिसाबले चासो लिनुभएको हो भन्ने लाग्छ। यसलाई अन्यथा लिएको छैन,’ रेग्मीले भने, ‘हामीले पनि यो महिनाभित्र सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिरहेका थियौँ। उहाँले भन्नुभएपछि छिटो गरिहाल्छौँ। आइतबार नै गर्ने विषयमा चाहिँ सूचना प्रवाह पर्याप्त गर्नुपर्ने भएकाले सम्भव हुन्छ कि हुँदैन भन्ने हो।’
सुपर त्रिशूली आयोजना गोरखा-१ क्षेत्रमा निर्माणाधीन महत्वपूर्ण जलविद्युत् आयोजनामध्ये एक हो। आयोजनाको निर्माण, प्रसारण लाइन, पहुँचमार्ग तथा स्थानीयस्तरका विषयमा सरोकारवालाबीच समन्वयको आवश्यकता रहेको बताइएको छ।
