काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेसमा पार्टीका सांसदहरूप्रति जनताको आक्रोश बढ्दै गएको दाबी गर्दै छठ पर्वपछि रास्वपाका सांसदले जनताको पिटाइ खाने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार बोलाइएको पार्टी, सांसद तथा मन्त्रीहरूको छलफलमा सिंहले सरकारका गतिविधि र सीमामा गरिएको कडाइप्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
सीमामा गरिएको कडाइका कारण मधेसका नागरिकको दैनिक जीवन प्रभावित भइरहेको उल्लेख गर्दै उनले सरकारले समस्या समाधान गर्न नसके अवस्था थप जटिल बन्न सक्ने बताएका थिए ।
नेपाल–भारत सीमाबाट सामान ल्याउँदा एक सय रुपैयाँसम्मको खरिदमा भन्सार महसुल छुट हुने व्यवस्था रहे पनि त्यसभन्दा बढी मूल्यको सामान ल्याउने नागरिकबाट भन्सार शुल्क लिन थालिएपछि मधेसमा विरोध भएको थियो।
सरकारले उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न थालेपछि नागरिकमा असन्तुष्टि बढेको थियो ।
यस विषयमा सर्वोच्च अदालतमा रिटसमेत दायर भएको थियो। सर्वोच्चले नागरिकमाथि सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेश दिएपछि सरकारले भन्सार असुलीको व्यवस्थामा केही खुकुलो बनाएको छ।
यही विषयलाई लिएर सिंहले सरकारबाट विभिन्न किसिमका गल्ती भइरहेको बताएका थिए। उनले आफूलाई एक साताको समय दिए सरकारका सयवटा गल्ती औँल्याउन सक्ने दाबीसमेत गरेका थिए।
‘मलाई एक हप्ता दिनुहोस्, म सरकारका एक सय गल्ती निकालिदिन्छु,’ सिंहले बैठकमा भनेको कुरा स्रोतले उद्धृत गर्दै भन्यो, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन्।’
सिंहको उक्त अभिव्यक्तिले मधेसमा सरकार र रास्वपाप्रति बढ्दो असन्तुष्टि रहेको बुझ्न सकिन्छ ।
