ललितपुर । गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। उनले देश र समाजका लागि सकारात्मक काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताएका छन्।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नागरिकको सेवामा महानगरपालिकाले गर्दै आएका कामको प्रशंसा गरे।
उनले ललितपुर महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा गरेको काम अनुकरणीय रहेको बताए। ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले यी क्षेत्रमा पुग्दा देशको गौरव महसुस हुने बताए।
महानगरपालिकाले नयाँ सोच र नवप्रवर्तनका साथ अघि सारेका योजनाबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने उनको भनाइ थियो। यस्ता सिर्जनात्मक तथा नागरिकमुखी कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको ७ दशमलव ९ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।
महर्जनले नेपालमा स्मार्ट स्ट्रिट लाइटको अवधारणा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबीसमेत गरे।
