रौतहट । सशस्त्र प्रहरीका इन्स्पेक्टरमाथि आक्रमण भएको घटनामा जाहेरी परेपछि आरोपितलाई पक्राउ गर्न पुगेको सुरक्षाकर्मीको टोलीले मध्यरातमा घरमा प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गरेको आरोप लागेको छ।
घटनामा बौधिमाई नगरपालिका–८ सरमुजवाकी ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव गम्भीर घाइते भएका छन्।
मंगलबार राति करिब १२ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली शिवपुजन यादव र नवलकिशोर यादवलाई पक्राउ गर्न पुगेको थियो।
परिवारका अनुसार सुरक्षाकर्मीले मुख्य ढोका फुटाएर घरभित्र प्रवेश गरी दुवैलाई नियन्त्रणमा लिने क्रममा शिवपुजनकी आमा बसकलिया, श्रीमती सुगान्धी देवी र १६ वर्षीया छोरी करिश्मामाथि समेत कुटपिट गरेका थिए। चिरपट भाटाले टाउकोमा प्रहार गर्दा बसकलियाको टाउकोमा सात र करिश्माको टाउकोमा छवटा टाका लगाइएको छ।
घाइते दुवैको गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बसकलिया देवीले आफूहरूले कुनै कसुर नगरेको भन्दै मध्यरातमा ढोका फुटाएर घरमा प्रवेश गरी आफूहरूमाथि आक्रमण गरिएको बताएकी छन्।
यसअघि सोमबार भारतको घोडासहनबाट तस्करीको सामान बोकेर नेपालतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच विवाद भएको थियो।
सो क्रममा बीओपी सरमुजवामा कार्यरत इन्स्पेक्टर लोकेन्द्र पुलामी मगरमाथि आक्रमण हुँदा उनको हातको औँला भाँचिएको र अर्का एक सुरक्षाकर्मीसमेत घाइते भएको बताइएको छ।
इन्स्पेक्टर पुलामीले दिएको जाहेरीका आधारमा आक्रमणमा संलग्नलाई पक्राउ गर्ने क्रममा यादव दाजुभाइलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। तर, परिवार र स्थानीयले भने उनीहरू उक्त घटनामा संलग्न नरहेको दाबी गरेका छन्। उनीहरूमध्ये एकजना सवारी चालक र अर्का खेती–किसानी गर्ने व्यक्ति रहेको परिवारको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले इन्स्पेक्टरमाथि भएको आक्रमणमा संलग्नलाई पक्राउ गर्न विशेष परिस्थितिमा सुरक्षाकर्मी परिचालन गरिएको बताए। मध्यरातमा घर प्रवेश तथा महिला र नाबालिकामाथि कुटपिट भएको आरोपबारे भने आफूलाई जानकारी नभएको उनको भनाइ छ।
घटनापछि पीडित परिवारले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र न्यायको माग गरेको छ। प्रहरीको दाबी र पीडित परिवारको आरोपबीच विरोधाभास देखिएकाले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।
