रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेट दिने प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ।
मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीयबाट घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। त्यसपछि परिवार तथा स्थानीयले उनको खोजी गर्दै आएका थिए।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा जितपुरसिमरा–२ बस्ने भिम सेन थापाका छोरा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने बहानामा फकाईफुल्याई घटनास्थलमा लगेको खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार त्यहाँ बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको आशंका गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासँगै म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूको घटनामा वास्तविक संलग्नता तथा घटनाको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
