काठमाडौं । काठमाडौँ उपत्यका र पूर्वी जिल्लाहरूमा मोटरसाइकल प्रयोग गरी पैदलयात्री महिलाको सुनको सिक्री लुट्दै भाग्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान अघि बढाउँदै गिरोहका मुख्य सदस्यसहित लुटिएको सुन खरिद गर्ने व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भोजपुरका ३२ वर्षीय मोटरसाइकल चालक योगेन्द्र तामाङ, रामेछापका ३६ वर्षीय ‘काले’ भनिने देवेन्द्र थापा मगर, चोरीको सुन खरिद गर्ने भोजपुरका मिलन विक र भारतका संजित साम्नत रहेका छन्।
प्रहरीका अनुसार गिरोहले विशेषगरी बिहान र दिउँसोको समयमा एक्लै हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकलाई निशाना बनाउने गरेको थियो। उनीहरूले मोटरसाइकलमा पछाडिबाट पछ्याउँदै नजिक पुग्ने र मौका मिल्नासाथ घाँटीको सुनको सिक्री लुछेर तीव्र गतिमा फरार हुने गरेका थिए।
भक्तपुरको लोकन्थलीस्थित बिग मार्ट नजिक असार २६ गते तथा असार ३० गते हनुमान चोकमा भएका सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा प्रहरी यो गिरोहसम्म पुगेको हो।
अनुसन्धानका क्रममा गिरोहको संलग्नता पूर्वी नेपालसम्म रहेको खुलेको प्रहरीले जनाएको छ। साउन २२ गते सुनसरीको धरानमा करिब साढे दुई तोला र साउन ३१ गते तरहरामा तीन तोला सुनको सिक्री लुटपाटमा समेत यही गिरोहको प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मुख्य आरोपी योगेन्द्र तामाङ यसअघि पनि डाँका चोरी मुद्दामा दुई पटक जेल परिसकेको प्रहरीले जनाएको छ।
लुटिएको सुन खरिद गर्ने व्यापारीहरूसमेत पक्राउ परेपछि गिरोहको आपराधिक सञ्जालबारे थप तथ्य खुलेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
