काठमाडौं । टोखामा सस्तोमा सुन दिने भन्दै एक व्यक्तिलाई बोलाएर २५ लाख रुपैयाँ लुटपाट गरेको घटनामा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्णबहादुर शाहीसहित दुई जना पक्राउ परेपछि घटनाको नयाँ पाटो खुलेको छ ।
प्रहरी अनुसन्धानअनुसार लुटपाटमा संलग्न चार जनामध्ये दुई जना पक्राउ परेका छन् भने बाँकी दुई जना भने लुटिएको रकममध्ये २४ लाख रुपैयाँ लिएर फरार भएका छन् । तर, ती दुई जना को हुन् भन्ने विषयमा प्रहरीले अहिलेसम्म आफ्नो अनुसन्धान गोप्य राखेको छ ।
पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार शाही र सिन्धुपाल्चोक घर भएका जीवन घतानी विक रहेका छन् । उनीहरूलाई केही दिनअघि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनामा चार जनाको समूह संलग्न रहेको देखिएको छ । समूहले सस्तोमा सुन उपलब्ध गराउने भन्दै एक व्यक्तिलाई टोखा क्षेत्रमा बोलाएको थियो । पीडितलाई सुन देखाएर विश्वासमा लिएपछि उनीसँग रहेको ठूलो रकम लुटपाट गर्ने योजना बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
घटनामा पीडितले आफ्नो २५ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् । लुटपाटपछि समूहका सदस्यहरू रकम लिएर भाग्न खोजेका थिए । त्यसक्रममा दुई जना पक्राउ परे भने दुई जना भने २४ लाख रुपैयाँसहित फरार हुन सफल भएको प्रहरी स्रोतको भनाइ छ ।
पक्राउ परेका घतानी विकको साथबाट प्रहरीले १ लाख २३ हजार रुपैयाँ नगद बरामद गरेको छ । उक्त रकम पनि लुटपाटकै भएको प्रहरीको दाबी छ । बाँकी ठूलो रकम भने फरार रहेका दुई जनाले लिएर भागेको अनुसन्धानमा देखिएको छ ।
यही कारण अहिले प्रहरी अनुसन्धानको मुख्य चासो २४ लाख रुपैयाँ लिएर फरार भएका ती दुई व्यक्ति को हुन् र उनीहरू कहाँ छन् भन्नेमा केन्द्रित भएको छ । प्रहरीले उनीहरूको पहिचान र विवरण सार्वजनिक नगरे पनि उनीहरूको खोजी तीव्र बनाएको जनाएको छ ।
अस्पताल जाने बहानामा कार्यालयबाट निस्किएका थिए शाही
घटनामा पक्राउ परेका प्रहरी सहायक हवल्दार शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको खुलेको छ । अनुसन्धानअनुसार उनी कार्यालयबाट अस्पताल जान्छु भनेर निस्किएका थिए । तर, अस्पताल जानुको सट्टा टोखामा पुगेर लुटपाटको घटनामा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
प्रहरी कर्मचारी नै कार्यालयबाट अस्पताल जाने बहाना बनाएर लुटपाटमा संलग्न भएको खुलेपछि घटनालाई थप गम्भीर रूपमा हेरिएको छ । शाहीको घटनामा के भूमिका थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नक्कली सुन देखाएर रकम लुट्ने योजना
प्रहरीको अनुसन्धानअनुसार समूहले नक्कली सुन देखाएर रकम लुट्ने योजना बनाएको थियो । सस्तोमा सुन दिने प्रलोभन देखाएर पीडितलाई टोका बोलाइएको र त्यहीँ रकम लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
घटनामा चार जनाको संलग्नता देखिए पनि हालसम्म दुई जना मात्रै पक्राउ परेका छन् । पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
तर, घटनाको सबैभन्दा महत्वपूर्ण पाटो भने २४ लाख रुपैयाँ लिएर फरार भएका दुई जना नै बनेका छन् । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक नगरेका कारण लुटपाटको योजनामा उनीहरूको भूमिका के थियो, रकम लिएर उनीहरू कहाँ पुगे र उनीहरूलाई प्रहरीले कहिलेसम्म पक्राउ गर्न सक्छ भन्ने विषय अहिले अनुसन्धानकै क्रममा छ ।
प्रहरीले फरार रहेका दुवै जनाको खोजी जारी राखेको जनाएको छ । अनुसन्धान पूरा भएपछि घटनामा संलग्न सबै व्यक्तिको भूमिका र लुटिएको रकमको अवस्थाबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ ।
