काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका लागि बैंकिङ सेवा अझ सहज हुने भएको छ। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरी कर्मचारीको तलबी खाता, कर्जा प्रवाह तथा पेन्सन वितरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पाँचवर्षे समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।
सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्म ‘पेसाकर्मी सरल कर्जा’ लिन सक्नेछन्। अवकाशप्राप्त कर्मचारीका लागि पाँच लाख रुपैयाँसम्म पेन्सनर कर्जाको व्यवस्था गरिएको छ।
त्यस्तै, योग्य प्रहरी कर्मचारीलाई बढीमा २० वर्ष अवधिका लागि ५० लाख रुपैयाँसम्म घरकर्जा तथा ७ देखि १० वर्ष अवधिको सवारी कर्जा उपलब्ध गराइनेछ। शैक्षिक कर्जाको सुविधासमेत सम्झौतामा समेटिएको छ।
प्रहरी कर्मचारीका लागि दुर्घटना बीमाको व्यवस्था पनि गरिएको छ। दुर्घटनाबाट मृत्यु वा पूर्ण अपाङ्गता भएमा पाँच लाख रुपैयाँसम्म बीमा सुविधा उपलब्ध हुनेछ।
सम्झौताबाट बहालवाला प्रहरीसँगै अवकाशप्राप्त, अमर तथा सहिद एवं अशक्त प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारले समेत कर्जा, पेन्सन तथा बीमालगायतका बैंकिङ सुविधा सहज रूपमा प्राप्त गर्नेछन्।
प्रहरी महानिरीक्षक कार्कीले सम्झौताले अहोरात्र सेवामा खटिने प्रहरी कर्मचारीलाई थप सुविधा र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकसँग विगत १० वर्षदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै थप सुविधासहित आगामी पाँच वर्षका लागि सम्झौता नवीकरण गरिएको हो।
