सुनसरी । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना र राजनीतिक नेतृत्वका विवादास्पद अभिव्यक्तिका कारण थप चर्किएको अध्ययन समितिको प्रतिवेदनले निष्कर्ष निकालेको छ।
सुनसरी क्षेत्र नम्बर ४ का सांसद इन्जिनियर दीपककुमार साहको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा घटना उत्कर्षमा पुग्नुको प्रमुख कारणमध्ये राजनीतिक तथा सामाजिक सञ्जालको प्रभावलाई औँल्याइएको छ।
प्रतिवेदनमा घटनापछि राजनीतिक व्यक्ति, स्थानीय अगुवा तथा अभियन्ताले सामाजिक सञ्जालमार्फत दिएका उत्तेजक अभिव्यक्तिले तनाव कम गर्नुको सट्टा थप भड्काएको उल्लेख छ।
सामाजिक सञ्जालमा हातखुट्टा काटिएको र बाहिरबाट व्यावसायिक सुटर आएको लगायतका अपुष्ट दाबीसमेत फैलाइएको समितिले जनाएको छ।
समितिले सुनसरी–२ का सांसद लालविक्रम थापासहित केही स्थानीय व्यक्तिका सामाजिक सञ्जाल गतिविधि तथा सार्वजनिक अभिव्यक्तिबारे अनुसन्धान गर्न सुझाव दिएको छ। गलत सूचना तथा अफवाह फैलाउनेमाथि कानुनी कारबाही गर्नसमेत प्रतिवेदनले सिफारिस गरेको छ।
कप्तानगञ्ज घटनाले सामाजिक सद्भावसँगै नेपालको अन्तर्राष्ट्रिय छविमा समेत असर पार्न सक्ने भन्दै समितिले राजनीतिक नेतृत्व र स्थानीय अगुवालाई संवेदनशील विषयमा संयमित अभिव्यक्ति दिन तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ।
