रौतहट । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीले कमाण्ड सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारीको सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई बिदाइ गर्दै नयाँ गण प्रमुख जोशीलाई स्वागत गरेका छन्।
कार्यक्रममा सीडीओ भुसालले एसपी अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा सीमा सुरक्षा, अपराध नियन्त्रण, द्वन्द्व व्यवस्थापन तथा शान्तिसुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरे।
विपद्का समयमा उद्धार तथा व्यवस्थापनमा समेत अधिकारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै भुसालले आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे।
नयाँ गण प्रमुख एसपी जोशीलाई स्वागत गर्दै सीडीओ भुसालले रौतहटको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको समन्वय र सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
भारतसँग खुला सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरीको जिम्मेवारी सीमा सुरक्षामा मात्र सीमित छैन। सीमा अपराध नियन्त्रण, अवैध चोरी–पैठारी रोकथाम, विपद् व्यवस्थापन तथा जिल्लाको समग्र शान्तिसुरक्षा कायम गर्न सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहँदै आएको छ।
नयाँ नेतृत्वका रूपमा जिम्मेवारी सम्हालेका एसपी जोशीका लागि सीमा सुरक्षा तथा अपराध नियन्त्रणसँगै जिल्लाका अन्य सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ।
एक वर्षे कार्यकाल पूरा गरेका एसपी अधिकारीको सरुवा सोमबारदेखि लागू भएको हो। अधिकारीको बिदाइसँगै रौतहटमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका एसपी जोशीले आगामी दिनमा जिल्लाका सुरक्षा चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
