काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेपछि सरकारले वार्तामार्फत समस्या समाधान गर्ने पहल अघि बढाएको हो ।
प्रसाईंले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगसमक्ष समेत आफ्ना मागहरू प्रस्तुत गरेका थिए । सोही मागका विषयमा छलफल गरी समाधान खोज्न सरकारले वार्ता टोली गठन गरेको जनाएको छ ।
वार्ता टोलीको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी छन् ।
टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।
सरकारले आन्दोलन घोषणा गरेका प्रसाईंसँग प्रत्यक्ष संवाद गरी उनका मागबारे छलफल गर्ने र सम्भावित समाधान खोज्ने तयारी गरेको हो ।
