सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई लक्षित गरी लुटपाट हुने गरेको आरोप लागेको छ । पछिल्लो पटक भारतबाट नेपाल आएका एक व्यक्तिको मोबाइल र नगद रकम लुटिएको घटनामा स्थानीयले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
गत साउन ३० गते भारतबाट मिर्जापुर हुँदै नेपाल आएका बलिराम यादव नाम गरेका व्यक्तिको मोबाइल फोन र साथमा रहेको २७ हजार रुपैयाँ स्थानीयस्तरमा ‘टोले गुण्डा’का रूपमा चिनिने सत्यन्द्र सहनीले लुटेको दाबी छ ।
लुटपाटपछि घटना बाहिर ल्याएमा वा प्रहरीलाई खबर गरेमा उल्टै तस्करीको आरोपमा प्रहरीमा बुझाइदिने भन्दै धम्की दिइएको पीडित पक्षको भनाइ छ ।
घटनाबारे प्रहरीलाई जानकारी गराउँदा भने प्रहरी चौकी अर्नाहाका इन्चार्ज असई सरोज यादवको भूमिकामाथि प्रश्न उठेको छ । स्थानीयका अनुसार लुटपाटमा संलग्न भनिएका सहनीमाथि तत्काल अनुसन्धान गर्नुपर्ने अवस्थामा प्रहरीले उल्टै पीडित यादवको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
स्थानीय सुधेन्दु सिंहले मिर्जापुर क्षेत्रमा सक्रिय भनिएका व्यक्तिहरूसँग प्रहरीको मिलेमतो रहेको आरोप लगाएका छन् । प्रहरीकै संरक्षणका कारण आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको मनोबल बढेको उनको दाबी छ ।
यस्तै, सहनीले आफू राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको संरक्षणमा रहेको बताउँदै आएको र राजनीतिक पहुँचका कारण आफूलाई कसैले कारबाही गर्न नसक्ने भन्दै स्थानीयलाई धम्क्याउने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् ।
प्रहरी स्रोतका अनुसार सहनी विभिन्न मुद्दामा फरार प्रतिवादीसमेत रहेको बताइएको छ । यदि उनी फरार प्रतिवादी हुन् भने खुलेआम क्षेत्रमा गतिविधि गरिरहँदा पनि पक्राउ नगरिनुले प्रहरीको कार्यशैलीमाथि थप प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
स्थानीयले लुटिएको भनिएको मोबाइल र २७ हजार रुपैयाँको खोजी तथा घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । साथै, सहनीमाथि यसअघि दर्ता भएका मुद्दा तथा उनको आपराधिक गतिविधिबारे समेत अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न उनीहरूको माग छ ।
लुटपाटमा संलग्न भनिएका व्यक्तिलाई नियन्त्रणमा लिनुको साटो पीडितकै मोटरसाइकल नियन्त्रणमा लिइएको विषयमा समेत छानबिन हुनुपर्ने स्थानीयको माग छ ।
मिर्जापुर क्षेत्रमा भारतबाट नेपाल आउने यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी लुटपाटलगायतका गतिविधि भइरहेको भए तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै स्थानीयले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
साथै, प्रहरी चौकी अर्नाहाका इन्चार्ज असई सरोज यादवको भूमिकामाथि उठेका प्रश्न र प्रहरीको सम्भावित संरक्षणसम्बन्धी आरोपबारे निष्पक्ष छानबिन गर्न स्थानीयले माग गरेका छन् ।
