काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि लत्ता–कपडा तथा जुत्ता खरिदमा भ्रष्टाचार भएको आरोपबारे तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
सांसद सुनारले सामाजिक सञ्जालमार्फत तीखो शैलीमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रष्टाचारको छानबिन अघि बढाउनुअघि गृह सचिव र प्रहरी महानिरीक्षकलाई समेत जिम्मेवार बनाइनुपर्ने धारणा राखेका हुन्।
‘हाम्रोतिर बुट–जुत्ता यसरी लगाउँछन्, तपाईंकोतिर बुट–जुत्ता लगाउँछन् कि खान्छन् ?’ भन्दै उनले म्यादी प्रहरीको लत्ता–कपडा तथा जुत्ता खरिदमा भएको भनिएको अनियमिततामाथि प्रश्न उठाएका छन्।
उनले उक्त प्रकरणमा तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्दै जनमतको कदर गर्न सरकार कठोर कदम चाल्नुपर्ने उनको भनाइ छ।
सुनारले भ्रष्टाचार वा अनियमिततामा संलग्न केही व्यक्तिको बदमासीको भार सिंगो नेपाल प्रहरी संगठनले बोक्न नहुनेसमेत बताएका छन्।
‘कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन। हामी दरिलो प्रहरीको पक्षमा छौं,’ उनले लेखेका छन्।
आफ्नो स्ट्याटसको अन्त्यमा उनले प्रहरीको आदर्श वाक्य ‘सत्य सेवा सुरक्षणम्’ उल्लेख गर्दै ‘जुत्ता लगाउने हो, खाने होइन’ भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।
सांसद सुनारको यो अभिव्यक्तिले म्यादी प्रहरीका लागि खरिद गरिएका सामग्रीको लागत, खरिद प्रक्रिया र सम्भावित अनियमिततामाथि थप छानबिनको आवश्यकता औँल्याएको छ।
